logo

मंगलबार, १२ साउन २०८३

logo

मंगलबार, १२ साउन २०८३   |   05:07 AM

  • बागमतीको नीति- ‘घुमौँ बागमती, बुझौँ संस्कृति’, ‘निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा

    बागमतीको नीति- ‘घुमौँ बागमती, बुझौँ संस्कृति’, ‘निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा


    पर्यटन नेपाल

    मंगलबार, १२ जेष्ठ २०८३


    काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पर्यटन, संस्कृति संरक्षण र वेलनेस पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा मंगलबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधार विकासदेखि सांस्कृतिक सम्पदाको डिजिटल अभिलेखीकरणसम्मका योजना समेटिएका छन्।

    सरकारले ‘घुमौँ बागमती, बुझौँ संस्कृति’ अभियान सञ्चालन गर्दै प्रदेशका प्रमुख तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने घोषणा गरेको छ। साथै, बागमती प्रदेशका ६६ वटा निर्वाचन क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि ‘निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणालाई कार्यान्वयन गरिने उल्लेख गरिएको छ।

    धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, संवर्द्धन र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा लोपोन्मुख भाषा, लिपि, कला, संस्कृति तथा अमूर्त सम्पदाको डिजिटल अभिलेख तयार गरिने जनाइएको छ।

    प्रदेशभित्र रहेका ऐतिहासिक, धार्मिक र वातावरणीय स्थलहरूलाई जोड्दै ‘बागमती प्रदेश पर्यटन सर्किट परियोजना’ अघि बढाइने भएको छ। यस परियोजनालाई प्रदेश सरकारको प्राथमिकता प्राप्त योजनाका रूपमा कार्यान्वयन गरी वृहत् रोजगारी तथा पर्यटन पूर्वाधार विकास गरिने सरकारको लक्ष्य छ।

    त्यस्तै, बागमती प्रदेश पर्यटन रणनीतिक योजना (२०२५–२०३०) प्रभावकारी रूपमा लागू गरिने उल्लेख गरिएको छ। चितवन जिल्लालाई बैठक, प्रोत्साहन, सम्मेलन तथा प्रदर्शनी पर्यटन केन्द्रको रूपमा विकास गरिने तथा यात्रा, होटल, भोजन र अन्य सेवामा सूचना प्रविधिमा आधारित स्मार्ट पर्यटन प्रणाली प्रवर्द्धन गरिने नीति सरकारले अघि सारेको छ।

    प्रदेश सरकारले साहसिक पर्यटन प्रवर्द्धनका लागि हाइकिङ, साइक्लिङ र प्याराग्लाइडिङजस्ता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    त्यसैगरी, आधुनिक जीवनशैली, जैविक, मनोवैज्ञानिक र वातावरणीय कारणले बढ्दै गएको तनाव, चिन्ता, नैराश्य र मानसिक समस्यालाई मध्यनजर गर्दै ध्यान र स्वास्थ्योपचारमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न प्रदेश राजधानी हेटौंडामा ‘वेलनेस केन्द्र’ स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend