logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:05 AM

  • नेपालमा विदेशी पर्यटक बसाइँ अवधि १६ दिन नाघ्यो, तर दैनिक औसत खर्च घट्यो

    नेपालमा विदेशी पर्यटक बसाइँ अवधि १६ दिन नाघ्यो, तर दैनिक औसत खर्च घट्यो


    पर्यटन नेपाल

    बुधबार, १३ जेष्ठ २०८३


    काठमाडौं। नेपालमा विदेशी पर्यटकको आगमनसँगै बसाइँ अवधिमा उल्लेख्य सुधार आएको छ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधि सभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार, पर्यटन क्षेत्र बिस्तारै पुनरुत्थानको दिशामा अघि बढेको छ। पछिल्लो एक दशक (सन् २०१६ देखि २०२५) मा झण्डै ८३ लाख ८५ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

    आर्थिक सर्वेक्षण अनुसार सन् २०२५ मा पर्यटकको बसाइँ अवधिमा ठूलो सुधार देखिएको छ। तर उनीहरूको प्रतिदिन गर्ने खर्च भने घटेको छ। सन् २०२४ मा प्रतिपर्यटक औसत बसाइँ अवधि १३.३० दिन रहेकामा सन् २०२५ मा बढेर १६.३४ दिन पुगेको छ।

    तर, औसत दैनिक खर्च भने ४०.८४ अमेरिकी डलरबाट घटेर ३३.०८ अमेरिकी डलरमा सीमित भएको छ।

    सन् २०२५ देखि अध्यागमन विभागलेुकेन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणाली मार्फत पर्यटकको आगमन र प्रस्थान मिति स्वचालित रूपमा गणना गर्न थालेकाले प्रतिदिनको औसत खर्च वास्तविक र सोही अनुपातमा घटेको देखिएको सर्वेक्षणले प्रष्ट पारेको छ।

    सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएकामा सन् २०२५ मा १.३ प्रतिशतले वृद्धि भई ११ लाख ६२ हजार ३६५ पुगेको छ। पर्यटक बढेसँगै देशको भ्रमण आयमा ४.८ प्रतिशतले सुधार भई ८३ अर्ब ३९ करोड ४० लाख रुपैयाँबाट बढेर ८७ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ।

    पर्यटक आउनुको मुख्य प्रयोजनमा ६०.२ प्रतिशत बिदा र मनोरञ्जनका लागि, १४.४ प्रतिशत तीर्थयात्राका लागि, १४.२ प्रतिशत पदयात्रा तथा पर्वतारोहणका लागि र ११.२ प्रतिशत अन्य विविध कामको लागि आएको देखिएको छ।

    हिमाल चढ्ने पर्यटकको संख्या ६.८ प्रतिशतले बढेर ९ हजार ८२० पुगेको छ। योसँगै सरकारले संकलन गर्ने पर्वतारोहण रोयल्टी गत वर्षको ९२ करोड ८२ लाखबाट उल्लेख्य रूपमा बढेर १ अर्ब ३६ करोड २६ लाख रुपैयाँ पुगेको छ।

    डिलक्स श्रेणीसहितका तारे होटलहरूको संख्या ०८१ फागुनमा २१४ रहेकामा २०८२ फागुनमा बढेर २२२ पुगेको छ। यस्तै, अन्य पर्यटक स्तरीय होटल, लज र रिसोर्टहरूको संख्या १ हजार ३८३ पुगेको छ।

    क्यासिनोको संख्या २९ बाट बढेर ३६ पुगेको छ। नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीहरूको संख्या ३२ पुगेको छ, जसले गर्दा दुईतर्फी हवाई सिट क्षमता ९१ लाख ९२ हजार पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend