काठमाडौं । श्रीलंकाले नेपाली नागरिकका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन) सुविधा सुरु गर्ने घोषणा गरेको छ। काठमाडौंस्थित श्रीलंकाली दूतावासले सार्वजनिक गरेको सूचनाअनुसार नेपालसहित ४० देशका नागरिकलाई यो सुविधा उपलब्ध गराइने भएको हो।
दूतावासका अनुसार पर्यटन प्रयोजनका लागि श्रीलंका जाने नेपाली नागरिकले अब ३० दिनसम्मका लागि डबल-एन्ट्री पर्यटक भिसा निःशुल्क प्राप्त गर्न सक्नेछन्। यो व्यवस्था २५ मे ०२६ देखि लागू हुने जनाइएको छ।
श्रीलंकाली सरकारले पर्यटन प्रवर्द्धन तथा विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले यस्तो निर्णय गरेको बताइएको छ। यसअघि पर्यटक भिसाका लागि शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब नेपाली नागरिकले बिना शुल्क प्राप्त गर्न सक्ने भएका छन्।
दूतावासले यात्रुहरूलाई श्रीलंका जानुअघि अनलाइनमार्फत भिसा लिन आग्रह गरेको छ। आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सकिने र यात्रा अघि नै अनुमति लिनुपर्ने उल्लेख गरिएको छ। साथै थप जानकारी वा सहायताका लागि काठमाडौंस्थित श्रीलंकाली दूतावासमा सम्पर्क गर्न सकिने जनाएको छ।
यो निर्णयसँगै नेपाली पर्यटकलाई श्रीलंका भ्रमण गर्न थप सहज हुने विश्वास गरिएको छ। पछिल्लो समय श्रीलंका दक्षिण एशियाकै लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको छ।समुद्री तट, ऐतिहासिक सम्पदा, बौद्ध धार्मिकस्थल तथा प्राकृतिक सौन्दर्यका कारण नेपाली पर्यटकको आकर्षण बढ्दै गएको छ।
दूतावासले जारी गरेको सूचनामा यात्रुहरूलाई आवश्यक कागजातसहित समयमै प्रक्रिया पूरा गर्न पनि अनुरोध गरिएको छ।