काठमाडौँ। जंगलमा बाघले देखाउने दुर्लभ तथा यसअघि अभिलेख नभएका व्यवहार क्यामेरामा कैद भएपछि नेपालको बाघ संरक्षणको सफलताले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छायांकन गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्डस् अ हिडन वर्ल्ड रिभेल्ड’ ले बाघको असाधारण व्यवहारसँगै समुदायमा आधारित संरक्षणको नेपाली अभ्यासलाई विश्व दर्शकमाझ पुर्याएको छ । वृत्तचित्रको विशेष प्रदर्शन टुरिजम इन्फो नेपालले बुधबार काठमाडौँको ठमेलस्थित एलफ्ट होटलमा आयोजना गरेको हो ।
प्रदर्शनमा पर्यटन, संरक्षण तथा सरकारी क्षेत्रका १०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । बीबीसी र पीबीएसको सहकार्यमा निर्माण भएको वृत्तचित्र बर्दिया राष्ट्रिय निकुञ्जको सीमावर्ती दुर्गम नदी टापु तथा सामुदायिक वन क्षेत्रमा छायांकन गरिएको हो ।
वृत्तचित्रमा गोमा, माला र जुगिनी नामका पोथी बाघको गतिविधिलाई पछ्याउँदै बाघको व्यवहारसम्बन्धी केही असाधारण दृश्य प्रस्तुत गरिएको छ । विशेषगरी पोथी बाघहरूले मिलेर बच्चाको हेरचाह गर्ने तथा भाले बाघले समेत बच्चाको संरक्षण र हेरचाहमा सक्रिय भूमिका निर्वाह गर्ने दृश्यले बाघको व्यवहारसम्बन्धी स्थापित बुझाइलाई चुनौती दिएको निर्माण टोलीको दाबी छ ।
सन् २०२२ को अन्त्यतिर यो डकुमेन्ट्री सुरु भएको थियो । बीबीसीको टोलीले बर्दियामा पोथी बाघको गतिविधि पछ्याउँदै लामो समयसम्म अध्ययन तथा छायांकन गरेपछि वृत्तचित्रले नयाँ तथ्य र दृश्यहरू समेट्न सफल भएको हो ।
ड्रोन, थर्मल क्यामेरा, नाइट(भिजन प्रविधि तथा विस्तृत फिल्ड ट्र्याकिङको प्रयोगबाट बाघका गतिविधि अभिलेख गरिएको थियो । वृत्तचित्रको दोस्रो भागमा बर्दिया राष्ट्रिय निकुञ्जभित्र रातको समयमा बाघले सिकार गरेको दुर्लभ दृश्यसमेत समेटिएको छ ।
कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशीले गरेका थिए । कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीधर पोखरेलको समेत उपस्थिति थियो । कार्यक्रममा जोशीले नेपालको बाघ संरक्षणको उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउन वृत्तचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले वन्यजन्तु संरक्षणलाई प्रकृतिमा आधारित तथा दिगो पर्यटनसँग जोडेर नेपाललाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सकिने धारणा राखे ।
वृत्तचित्र प्रदर्शनपछि सजल प्रधानको सहजीकरणमा प्यानल छलफल गरिएको थियो । छलफलमा बर्दियाका प्रकृति गाइड सुशीला महतरा र मञ्जु महतराले वृत्तचित्र निर्माणका क्रममा बाघको खोज, अनुगमन तथा ट्र्याकिङमा आफूहरूले गरेको काम र अनुभव साझा गरे ।
छलफलमा नेपालको बाघ संरक्षण यात्राले हासिल गरेको उल्लेखनीय प्रगतिबारे पनि चर्चा भयो । सन् २०१० मा १२१ रहेको नेपालको बाघ संख्या अहिले ४०० भन्दा माथि पुगेको तथ्य प्रस्तुत गर्दै सहभागीहरूले नेपाललाई विश्वमै बाघ संरक्षणको उल्लेखनीय सफलताको उदाहरणका रूपमा स्थापित गर्न सकिएको बताए ।
तर बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन नयाँ चुनौतीका रूपमा देखिएको सहभागीहरूको भनाइ थियो । संरक्षणका उपलब्धिलाई दीगो बनाउन संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको हित, सुरक्षा र सहभागितालाई समान प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिए ।
कार्यक्रममा वन्यजन्तु संरक्षण र पर्यटनबीचको सम्बन्धबारे समेत चर्चा गरिएको थियो । बर्दियामा बाघ तथा वन्यजन्तुमा आधारित पर्यटनको सम्भावना बढ्दै गएको अवस्थामा संरक्षणको सफलता नेपालका लागि अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधार बन्न सक्ने सहभागीहरूको धारणा थियो ।
कार्यक्रमको अन्त्यमा अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र आयोजना गरिएको थियो । त्यसपछि प्यानलिस्ट तथा विशिष्ट अतिथिहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।
टुरिजम इन्फो नेपालका प्रबन्ध निर्देशक विश्व भण्डारीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, संरक्षण साझेदार, वृत्तचित्र निर्माण टोली, बर्दियाका स्थानीय समुदाय तथा पीबीएसलगायतका साझेदारप्रति आभार व्यक्त गरे ।
उनले नेपालको वन्यजन्तु संरक्षणको कथा विश्वमाझ पुर्याउने यस्ता प्रयासले जैविक विविधता संरक्षणप्रति थप प्रतिबद्धता सिर्जना गर्नुका साथै दिगो पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे ।