काठमाडाैँ । कृषि विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने तथा कर अनुपालन बढाउने उद्देश्यले आन्तरिक राजस्व विभाग (IRD) को करदाता प्रोत्साहन कार्यक्रममा आफ्नो मोबाइल बैंकिङ एपमा समावेश गरेको छ।
नेपाल सरकार तथा आन्तरिक राजस्व विभागद्वारा सुरु गरिएको यस कार्यक्रमअन्तर्गत ग्राहकहरूले रु. १०० भन्दा बढीको QR भुक्तानी गर्दा दैनिक रु. १ लाख तथा प्रत्येक १५ दिनमा रु. १० लाख सम्मको बम्पर पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रम कसरी सञ्चालन हुन्छ?
कृषि विकास बैंकका ग्राहकहरूले निम्न प्रक्रिया पूरा गरेपछि उक्त प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन्:
• नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गर्नुपर्ने।
• कृषि विकास बैंकको मोबाइल बैंकिङ एपमार्फत Merchant QR प्रयोग गरी भुक्तानी गर्नुपर्ने।
• सम्बन्धित PAN वा VAT बिल लिनुपर्ने र प्रमाणीकरणका लागि सुरक्षित राख्नुपर्ने।
आकर्षक नगद पुरस्कार
आन्तरिक राजस्व विभागले तोकेको व्यवस्थाअनुसार योग्य डिजिटल कारोबारहरू स्वचालित रूपमा लक्की ड्रमा सहभागी हुनेछन्।
• दैनिक पुरस्कार: एक जना भाग्यशाली ग्राहकले कर कट्टीपछिको रु. १ लाख नगद पुरस्कार प्राप्त गर्ने।
• बम्पर पुरस्कार: प्रत्येक १५ दिनमा एक जना ग्राहकले रु. १० लाख नगद पुरस्कार प्राप्त गर्ने।
ADBL Smart plus mobile एपबाट आफ्नो प्रगति हेर्न सकिने
कृषि विकास बैंकले आफ्नो ADBL Smart plus मोबाइल बैंकिङ एपमा छुट्टै IRD Incentive Program मेनु समावेश गरेको छ। यसमार्फत ग्राहकहरूले:
• आफूले गरेका योग्य कारोबारको कुल संख्या हेर्न,
• कारोबारको विस्तृत विवरण तथा इतिहास हेर्न,
• आफ्नो पुरस्कारको अवस्था तथा लक्की ड्रको नतिजा हेर्न सक्नेछन्।
बैंकले ग्राहकहरूलाई Merchant QR मार्फत डिजिटल भुक्तानी गर्न, PAN/VAT बिल लिन तथा एपमार्फत आफ्नो योग्यता नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ। यस अभियानले डिजिटल कारोबार विस्तार गर्दै नगदरहित अर्थतन्त्र निर्माण तथा वित्तीय पारदर्शिता बढाउन योगदान गर्ने बैंकको विश्वास रहेकाे छ।