logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • त्रिसुली नदीमा ३५ जनालाई रिभर गाइड तालिम

    त्रिसुली नदीमा ३५ जनालाई रिभर गाइड तालिम


    पर्यटन नेपाल

    आइतबार, २६ कार्तिक २०८०


    काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रूपमा सञ्चालित जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल एशोसिसन अफ राफ्टिङ एजेन्सिज (नारा) सँगको सहकार्यमा त्रिसुली नदीमा रिभर गाइड तालिम सम्पन्न भएको छ ।

    त्रिसुली नदीमा सञ्चालन भएको रिभर गाइड तालिम १४ दिनसम्म भएको थियो । उक्त तालिममा देशभरिका महिला तथा पुरुषहरू सहभागी भएका थिए ।

    दुई सातासम्म सञ्चालन गरिएको तालिममा सातै प्रदेशका ३५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालीममा रिभर गाइड तथा राफ्टिङको सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिएको थियो ।

    जसमा नदीहरूको जानकारी, फोहर मैला व्यवस्थापन, राफ्टिङ सञ्चालन, यसमा आइपर्ने जोखिम र यात्रुको सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको तालिमका मुख्य प्रशिक्षक कमलबहादुर ठकुरीले जानकारी दिए ।

    राफ्टिङ गर्दा कसरी गर्ने, बोडलाई कसरी चलाउने, नदिको बहाव कसरी थाहा पाउने, आफू लगायत पाहुँनाहरुको कसरी सुरक्षा गर्ने, र्यापिडलाई कसरी मापन गर्ने लगायतको कुरा सिकाएको मुख्य प्रशिक्षक ठकुरीले बताए ।

    तालिम समापनको अवसरमा बोल्दै नाराका निवर्तमान अध्यक्ष गंगाप्रसाद नेपालले नेपालमा जल पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएको जनशक्तिको अभाव परिपूर्ति गर्न तालिम सहयोगी हुने जानकारी दिए । तालीमले स्वदेश तथा विदेशमा रोजगारीको अवसर प्रदान गर्ने तथा देशमै स्वरोजगार बन्न चाहनेका लागि समेत फलदायी हुने उनको भनाइ छ ।

    नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अहिलेसम्म करिब ९ सय २८ जना जतिले तालिम प्राप्त गरिसकेका छन् । पूर्वमा तमोरबाट सुरु गरेर पश्चिममा कर्णालीसम्म राफ्टिङको तालिम दिइएको छ ।

    उनले भने, ‘हामीले १६ सयलाई रोजगारी दिने भनेर सानो प्रोजेक्ट सञ्चालन गरेका थियौँ । तर उक्त वर्ष हामीले करिब ६ हजार जतिलाई अल्पकालीन रोजगारी दियौँ । बि.स. २०२२ मा चाहिँ हामीले विभिन्न पूर्वाधारका साथसाथै कम्तीमा ४०० जना जतिलाई तालिम दिने भन्ने थियो । तर उक्त वर्ष हामीले १४ सय ६८ जनालाई तालिम दियौँ ।’

    पछिल्लो समय विभिन्न साहसिक खेलहरूमा महिलाहरूको सहभागिता पनि उच्च रहेको छ । त्यसैले स्वदेश वा विदेशमा रोजगारीको लागि महिलाहरू पनि रिभर गाइड तालिम लिएर आत्मनिर्भर बनिरहेका छन् । महिलाहरूलाई नै प्राथमिकतामा राखेर यस अगाडि पनि रिभर गाइड तालिम सञ्चालन गरिएको थियो ।

    जल पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गरेको र त्यसैको निरन्तरता स्वरूप यो तालीम आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन् ।

    उनले भनिन्, ‘ नेपाल अधिराज्य भरिको महिलाहरूलाई नै यस साहसिक खेलमा कसरी अगाडि ल्याउने भनेर हामीहरूले जोड दिएका छौँ । त्यसै अनुरूप हामीले भोटेकोसी कालिगण्डकीलगायतमा तालिम दिएका थियौँ । जसमा ३७ जना महिलाहरूलाई नै प्राथमिकता राखेर १५ दिन तालिम सञ्चालन गरेका थियौँ ।’

    देशैभरीबाट सहभागिताको लागि आव्हान गरी तालिम सञ्चालन गरिएको जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए । तालिमका सहभागीहरूले तालिम व्यवहारिक भएको र यसले आफूहरूमा कम प्रतिको आत्मविश्वास बढाएको बताए ।

    कालिगण्डकी, तमोर, भोटेकोसी र त्रिसूली लगायतका ठाउँमा नेपाल पर्यटन बोर्डले रिभर गाइड तालिम दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend