logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्यो उडान चाप

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्यो उडान चाप


    पर्यटन नेपाल

    आइतबार, २६ कार्तिक २०८०


    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ ।

    ‘दसैंको तुलनामा तिहारमा उडान केही कम छ। तर दैनिक उडान भने चाप बढिरहेको छ,’ उनले भने । महापबन्धक तिवारीले अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर एक सय १० को हाराहारीमा उडान भइरहेको जानकारी दिए ।

    दसैंको समय अर्थात गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै एक सय १३ उडान भएको थियो । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान हो ।

    असोज ३० गते एकसय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एकसय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलको आँकडा छ ।

    तिहार, छठलगायत चाडपर्वका साथै पर्यटकीय सिजन पनि चलिरहेकाले हवाई उडान बढेको तिवारीको भनाइ थियो। उनका अनुसार तिहार र छठका कारण आन्तरिकतर्फ हवाई यात्रुको चाप दैनिक बढ्दो छ ।

    आन्तरिकतर्फ दैनिक दुईतर्फी गरेर तीन सय उडानमार्फत् १४ देखि १५ हजार यात्रु आवतजावत गरिरहेका विमानस्थलका महाप्रबन्धक तिवारीले जानकारी दिए । आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् । अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपियो

    जाडो यामको नयाँ उडान तालिकामा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपिएको छ। विमानस्थलका अनुसार कतार एयरवेज, फ्लाई दुबईलगायत एयरलाइनसले उडान बढाएका छन् । एयर ट्राफिक व्यवस्थापन गरेर उडान सहजीकरण भइरहेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका महाप्रबन्धक तिवारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend