logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • काठमाडौँलाई एक फन्को मार्दै ‘मञ्जुश्री ट्रेल रेस’ सम्पन्न, रमेश र अनिताले चुमे उपाधि

    काठमाडौँलाई एक फन्को मार्दै ‘मञ्जुश्री ट्रेल रेस’ सम्पन्न, रमेश र अनिताले चुमे उपाधि


    पर्यटन नेपाल

    आइतबार, २६ कार्तिक २०८०


    काठमाडौँ । काठमाडौँलाई एक फन्को मार्दै पुरुष तर्फ रमेश लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र महिला तर्फ अनिता राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा १७० किलोमिटर पार गर्दै मञ्जुश्री ट्रेल रेसको तेस्रो सँस्करणको उपाधी जित्न सफल भएका छन् ।

    अल्ट्रा ट्रेल रेसमा ३ वर्षदेखि रुचि राख्दै आएका रमेश लिम्बू यस किसिमको रेसमा भने पहिलोपटक सहभागी भएको बताउँछन् । पहिले घरबाट स्कुल जाँदा ताप्लेजुङमा करिब एक घण्टाको बाटो दौडने गरेको बानी नै आफ्नो दौडको आधार भएको लिम्बुले बताए ।

    विजेता लिम्बू र राईले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्याण्डमा आयोजना हुने ‘अल्ट्रा टुर मोन्टा रोस ’ मा सहभागी हुनेछन् । सो अवसरमा उनीहरुको आर्थिक लगायत यात्रा ब्यवस्थापनमा मञ्जुश्री ट्रेल रेसले सम्योजन गर्नेछ ।’

    शुक्रबार बिहान ६ बजे काठमाडौंको दहचोकस्थित कालु पाँडे डाँडाको फरेस्ट क्याम्पबाट १७० किलोमिटर दौड सुरू भएको थियो । यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकको भनाइ छ ।

    ट्रेल रेसमा दौडने क्रममा प्रतियोगीहरूले फूल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भस्मासुर र चन्द्रागिरी लगायतका पहाडहरु चढ्ने, झर्ने गर्नुपर्थ्यो । सो क्रममा उनीहरुले ती सबै पहाड गरी कुल ९८०० मिटरको उचाइ लिएका थिए । जुन उचाइ समुन्द्रदेखि सगरमाथासम्मको भन्दा बढी हो ।

    मञ्जुश्री ट्रेल रेस अन्तर्गत नै लामो दूरीमा सहभागी हुन अनुकूल नहुनेको सहभागीको लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता पनि समावेश थिए । सबै दौडहरू दह चोक स्थित कालु पाँडे डाँडामै पुगेर सकिएका थिए ।

    ९२ किलोमिटर रेस २० घण्टा १३ मिनेट ३ सेकेन्डमा पार गर्दै पुरुष तर्फ बिक्रम थामी विजेता बने । महिला सहभागी कसैले पनि ९२ किलोमिटर रेस पूरा नगरेकाले सो विधामा महिलातर्फ विजेता बनेनन् । ५४ किलोमिटर रेस ८ घण्टा ३३ मिनेट १९ सेकेन्डमा पार गर्दै पुरुष तर्फ बिकल्प पोख्रेल र महिला तर्फ ८ घण्टा ३६ मिनेट ३ सेकेन्डमा पार गर्दै मन्जु रावत प्रथम भएका छन् ।

    यस्तै २४ किलोमिटर रेस ३ घण्टा ५ सेकेन्डमा पार गर्दै पुरुष तर्फ श्याम मग्राती र महिला तर्फ ३ घण्टा ३९ मिनेट ९ सेकेन्डमा पार गर्दै प्रिया राई प्रथम हुन सफल भएका छन् । बिजेताले प्रमाणपत्र र एड्भेन्चर गियरु लगायतका पुरस्कार प्राप्त गरेका छन् ।

    प्रतियोगिताका चार चरणमा गरी ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगी सहभागी थिए। जसमध्ये ६९ जना पुरुष र १९ जना महिला रहेको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुबास थापाले जानकारी दिए ।

    विभिन्न देशबाट यो कार्यक्रमकै लागि भनेर सहभागी आउनुले नेपालको ट्रेल रेस अन्तराष्ट्रिय जगतमा परिचित हुँदै गएको र राम्रो सम्भावना भएको पुष्टी गरेको आयोजक बताउँछन् ।

    पर्वतीय पर्यटन ब्यवसायमा आवद्ध बेलायती नागरिक रोल्याण्ड हुन्टेर भन्छन् ‘गाह्रो होला तर यो ट्रेल निकै उत्कृष्ट छ । युरोपका विभिन्न ट्रेल दौडिसकेको छु तर यो ट्रेल निकै राम्रो लाग्यो। हुन्टेर १७० किलोमिटर दौडमा दोस्रो भएका सहभागी हुन् ।

    ‘ट्रेल रेसका लागि नेपाल विश्वमै उत्कृष्ट गन्तव्य हो, यसको अझै प्रचार र व्यवस्थापन हुन सके ट्रेल रेसको हबका रूपमा नेपाललाई विकास गर्न सकिन्छ, ’ अन्तराष्ट्रिय क्षेत्रमा ट्रेल रेसको क्षेत्रमा लागि परेका जिम्मी ओस्त्रोमले भने । उनी थप्छन् ‘ १७० किलोमिटर दौडदा ९० प्रतिशत भन्दा भढी भागमा मानव निर्मित संरचना भेटिदैन । राजधानी नजिक भएर पनि यसरी कृत्रिम संरचना रहित भएर प्रकृतिको काखमा रमाउन पाउनुमा बेग्लै आनन्द छ । ’

    ‘नेपालमा प्रचुर सम्भावना भएर पनि ट्रेल रेसको कल्चर भने विस्तारै विकास हुँदै गइरहेको छ, ’ रेस व्यवस्थापक महेश दाहाल भन्छन्,‘ यस किसिमको प्रतियोगिताले नेपालमा रेस कल्चरको विकास गर्न र नेपाली धावकहरूलाई अन्तराष्ट्रिय स्तरमा प्रतिष्ठित ट्रेल रेसमा प्रतिष्पर्धा गर्नका लागि योग्य बन्न अभिप्रेरित गर्छ । ’

    विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रुट छिचोले । जिमि ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको वैकल्पिक रुटहरू सहित नक्साङ्कन गरेका थिए । बिभिन चरणमा विभिन्न ब्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो ।

    फ्रान्स स्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता सँस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने सँस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend