logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • मानहुँकोटमा बढे पर्यटक, होटल खचाखच

    मानहुँकोटमा बढे पर्यटक, होटल खचाखच


    पर्यटन नेपाल

    मंगलबार, १२ मंसिर २०८०


    काठमाडौँ । सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएका छन् ।

    सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुन थालेको छ ।

    असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको मानहुँकोटस्थित होटल भ्यू टावरका सञ्चालक प्रेम रावतले बताए । आफूहरूसँग रहेको सात वटा कोठा र दुई वटा टेन्ट दुई तीन दिन पहिल्यै बुक भइरहेको उनले सुनाए ।

    पर्यटकको चाप बढेपछि मानहुँकोटमा १० वटा होटल सञ्चालनमा आइसकेका छन् । धेरै पर्यटक मानुहुँकोट आउन् भन्ने उद्देश्यले आफूले समूहमा आउनेलाई लक्षित गरी एक रात बास, दुई छाक खाना, नास्ता र चियासहित प्रतिव्यक्ति एक हजार एकसय कायम गरेको होटल मानहुँकोट एण्ड रिसोर्टका सञ्चालक पूर्ण श्रेष्ठले बताए ।

    मानहुँकोटबाट देखिने सूर्योदय र बादलको दृश्य निकै आकर्षक लागेको धरानबाट आएकी ५२ वर्षीया निरु राईले बताइन् । ‘बादलको दृश्य पनि यस्तो राम्रो देखिएला भन्ने मैले सोचेको थिइन, अझै यसको प्रचारप्रसार गर्न सके सबैलाई मानहुँकोटको बारेमा जानकारी हुने थियो’, उनले भनिन् ।

    समुद्री सतहबाट करिब एक हजार एक सय मिटरको उचाइमा रहेको मानहुँकोट तनहुँको दमौलीबाट करिब सात किलोमिटरको यात्रामा पुग्न सकिन्छ ।

    जाडोको मौसममा अन्य दिन दुईरतीन सय जना र बिदाको दिन आठदेखि नौ सय जनासम्म मानहुँकोट पुग्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend