logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • मध्यपूर्व तनावको छायामा नेपालको पर्यटन, मुख्य सिजनमै पर्यटक आगमनमा गिरावट

    मध्यपूर्व तनावको छायामा नेपालको पर्यटन, मुख्य सिजनमै पर्यटक आगमनमा गिरावट


    पर्यटन नेपाल

    बिहिबार, २४ बैशाख २०८३


    काठमाडौँ। नेपालको पर्यटन क्षेत्रका लागि सबैभन्दा व्यस्त मानिने वसन्त ऋतु (मार्च, अप्रिल, मे) यस पटक इरान (इजरायलु द्वन्द्वका कारण प्रभावित भएको छ।

    विशेषगरी पदयात्रा र पर्वतारोहणका लागि स्वर्ण समय मानिने यो सिजनमा मध्यपूर्व (पश्चिम एसिया)को भूराजनीतिक तनावले पर्यटन उद्योगमा प्रत्यक्ष धक्का पुर्‍याएको छ।

    नेपाल आउने लामो दूरीका उडानहरू दोहा, दुबई र इस्तानबुल जस्ता युद्ध क्षेत्र नजिकका ट्रान्जिट भएर आउने हुनाले पर्यटकमा सुरक्षाको चिन्ता बढेको छ। यसले गर्दा युरोप र अमेरिकाबाट आउने पर्यटकहरूले धमाधम यात्रा स्थगित र टिकट रद्द गर्न थालेका छन्।

    युद्धका कारण इन्धनको मूल्य बढ्दा हवाई भाडा पनि आकाशिएको छ। काठमाडौँ–हङकङको उडान भाडा ८० देखि ८५ हजारबाट बढेर १ लाख ५ हजार रुपैयाँ सम्म पुग्नुले पर्यटकको व्ययभार बढाएको छ।

    पर्यटक आगमनको निराशाजनक तथ्यांक
    मुख्य सिजनमा दैनिक ३ हजार ५०० देखि ४ हजार पर्यटक आउनुपर्नेमा हाल यो संख्या १ हजार ८०० देखि २ हजारमा खुम्चिएको छ। पछिल्लो तथ्यांक अनुसार

    मार्चमा १ लाख २० हजार ५१६ पर्यटक आएका छन्। जुन गत वर्षको सोही महिनाको तुलनामा एक प्रतिशत कम हो। तर, अप्रिलमा झन गिरावट आएको छ। अप्रिलमा गत वर्षको सोही महिनाको तुलनामा ७.३ प्रतिशत कम अर्थात् १ लाख ७ हजार ९३४ पर्यटक मात्र आएका छन्।

    पर्यटकीय सहर पोखरामा त झण्डै ५० प्रतिशतसम्म होटल बुकिङ रद्द भएका छन्, जसले पर्यटन व्यवसायीहरूलाई निकै चिन्तित तुल्याएको छ।

    सरकार र नेपाल पर्यटन बोर्डले सन् २०२६ मा १५ देखि १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेका थिए। तर, सुरुवातमै देखिएको यो गिरावटले गर्दा लक्ष्य भेट्टाउन कठिन हुने देखिएको छ। सन् २०२५ मा पनि १५ लाखको लक्ष्य राखिएकोमा मात्र ११ लाख ५८ हजार पर्यटक भित्रिएका थिए।

    पर्यटन क्षेत्रका जानकारहरूका अनुसार अब नेपालले आफ्नो रणनीति बदल्न आवश्यक छ। छिमेकी राष्ट्र भारत, चीन र दक्षिण-पूर्वी एसियाली देशहरूमा प्रचारप्रसार केन्द्रित गर्नुपर्ने देखिन्छ। नेपाल युद्ध क्षेत्रबाट टाढा र सुरक्षित गन्तव्य हो भन्ने सकारात्मक सन्देश विश्व बजारमा फैलाउनुपर्ने देखिन्छ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend